दफा ९६
प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापन
: (१) नियमावलीको अधीनमा रही सञ्चालकहरुले आफूमध्येबाट एकजनालाई प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्नेछन्।
(२) प्रबन्ध सञ्चालकको काम, कर्तव्य र अधिकार नियमावलीमा लेखिए बमोजिम वा सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त प्रबन्ध सञ्चालक वा कम्पनीको व्यवस्थापनको जिम्मेवारी लिने अन्य सञ्चालकलाई कम्पनीमा नियुक्त गर्दा नियुक्तिको शर्त, पारिश्रमिक तथा सुविधा निर्धारण गरी लिखित सम्झौता गर्नु पर्नेछ र त्यस्तो सम्झौतामा उल्लिखित पारिश्रमिक
तथा सुविधा र साधारण सभाले निर्धारण गरे अनुसार पाउने अन्य सुविधा बाहेक अन्य कुनै सुविधा दिन वा भुक्तानी गर्न पाइने छैन ।
(४) उपदफा (३) बमोजिमको सम्झौताको अवधि एकपटकमा चार वर्षभन्दा बढी हुनेछैन ।
(५) सञ्चालकहरुसँग भएको उपदफा (३) बमोजिमको सम्झौता शेयरधनीहरुले निशुल्क हेर्न पाउने व्यवस्था मिलाउनु पर्नेछ ।
(६) कुनै एक सूचीकृत कम्पनीबाट बैठक भत्ताबाहेक नियमित पारिश्रमिक वा सुविधा प्राप्त गरिरहेको सञ्चालकलाई नियमित पारिश्रमिक वा सुविधा पाउने गरी अर्को सूचीकृत कम्पनीमा प्रबन्ध सञ्चालकको पदमा नियुक्त गर्न सकिने छैन ।